काठमाण्डौं । मनाङको चामे गाउँपालिकाका एक कर्मचारीसहित गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहीबार बिहान दिएको जानकारी अनुसार पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हिमाली जिल्ला मनाङमा कोरोना संक्रमण देखिएको पहिलो पटक हो । गण्डकी प्रदेशमा अब मुस्ताङबाहेक १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । ४२ जना थपिएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २८९ पुगेको छ ।
