काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा कोभिड १९ का एक लाख ४० हजार १ सय ८८ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा विश्वमा पाँच हजार दुई सय ४८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
वल्डोमिटर्सको तथ्यांकअनुसार हिजो सबैभन्दा बढी कोरोनाका नयाँ संक्रमित ब्राजिलमा थपिएका छन्। ब्राजिलमा ३१ हजार चार सय ७५ जना नयाँ संक्रमित उपचारका लागि अस्पताल पुगेका थिए भने एक हजार दुई सय नौ जनाको मृत्यु भएको थियो।
अमेरिकामा पछिल्लो २४ घण्टामा थप २५ हजार ७८ जनामा कोरोना संक्रमण भएको पाइएको छ। सोही समयमा अमेरिकामा आठ सय सात जनाको मृत्युको कारक कोरोना बनेको छ।
भारतमा हिजो १३ हजार एक सय तीन जना नयाँ संक्रमित थपिए भने कोरोनाकै कारण तीन सय ४१ जनाको मृत्यु भएको छ रुसमा पछिल्लो २४ घण्टामा कोरोनाका सात हजार आठ सय ४३ जना नयाँ संक्रमित थपिएका छन्। सो अवधिमा रुसमा कोरोना कारण मृत्यु हुनेको संख्या एक सय ९४ छ।