काठमाडौ। एक सातायता नेपालमा मनसुन सक्रिय भइरहेको छ । मौमस पूर्वानुमान महाशाखाले अझै केही दिन वर्षाको सम्भावना रहेको जनाउँदै बाढी, पहिरोबाट सचेत रहन समेत आग्रह गरेको छ । महाशाखाका अनुसार यस वर्ष जुन १२ देखि वर्षायाम शुरु भएको छ ।
महाशाखाले आगामी २४ घण्टा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भई ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आज शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली हुनेछ ।
प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।