काठमाडौं । सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा लिपुलेक र कालापानी समावेश गरेर नयाँ नक्सा जारी भएसँगै नेपालको निशान छाप पनि परिवर्तन भएको छ । संसदबाट निशान छाप संशोधन गर्ने प्रस्ताव पारित भएसँगै आज राजपत्रमा प्रकाशित भएसगै नयाँ निशान छाप प्रयोगमा आएको हो । नयाँ निशान छाप प्रयोगमा आएपछि नोट नागरिकता र पासपोर्ट पनि परिवर्तन गर्नुपर्ने भएको छ । लेटरप्याड, नागरिकता छपाई सुरु गरेको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पासपोर्टमा पनि अब नयाँ निशान छाप्नु पर्नेछ । त्यसैगरी सय रुपैँयाको नोटमा रहेको नेपालको नक्सा परिवर्तन गर्नुपर्ने उहाँको भनाई छ । निशान छाप नयाँ लागू भएसँगै सरकारी कर्मचारीका परिचयपत्र र लाइसेन्समा पनि लोगो परिवर्तन गर्नुपर्ने अधिकारीले जानकारी दिनुभयो ।