काठमाडौं । जनभावनालाई नजरअन्दाज गर्दै केही शीर्ष नेताको मोर्चाबन्दीमा एमसीसी अनुमोदन गरे आन्दोलन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० निकट विद्यार्थी संगठनले चेतावनी दिएको छ ।
बन्दाबन्दीको समयमा जनतालाई कर्फ्युमा थुनेर, व्यापक छलफल नगरी संसद्बाट एमसीसी पास नगर्न राप्रपासम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) ले आइतबार विज्ञप्तिमार्फत चेतावनी दिएको हो ।
कोभिड–१९ व्यवस्थापनमा सरकारको चरम लापरबाही र असफलताका साथै भ्रष्टाचारविरुद्ध युवाहरूद्वारा स्वतःस्फूर्त सञ्चालनमा आएको आन्दोलनलाई सहयोग र समर्थन गर्ने राप्रविसंका अध्यक्ष धनसुर शाहीले विज्ञप्तिमा जनाएका छन् ।
दुई राप्रपा एकतापछि गठन भएको केन्द्रीय कार्य समितिमा यूवाहरूको न्यून उपस्थिति रहेकोमा विद्यार्थी संगठनले चिन्ता व्यक्त गरेको छ । केन्द्रीय समितिमा ५० प्रतिशत युवा सहभागिताको माग गर्दै राप्रपाका तीन अध्यक्ष पशुपति शमशेर राणा, डा। प्रकाशचन्द्र लोहनी र कमल थापाको विज्ञप्तिमा ध्यानाकर्षण गरिएको छ ।