काठमाडौं । भारतका विभिन्न स्थानमा देखिएको सलह किरा नेपाल प्रवेश गरेको छ । नेपालका तराइका जिल्लामा लाखौंका संख्यामा प्रवेश गरेको अनुमान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीले दिएको जानकारी अनुसार शनिबार बिहान सलह किरा नेपाल प्रवेश गरेको हो । सलह किरा बारा, पर्सा, सिन्धुली, सर्लाही, रुपन्देहीलगायतका जिल्लामा प्रवेश गरेको छ । रुपन्देहीबाट पाल्पा र गुल्मीतर्फ पनि सलह किरा पुगेको बताइएको छ ।
यो किरा लामो समयदेखि भारतका विभिन्न स्थानमा देखिएकाले नेपालमा पनि यसको सम्भावित प्रवेशलाई दृष्टिगत गरी सो को अध्ययन गरी आवश्यक तयारीका कार्य गर्न मन्त्रालयले जेठ १३ गते प्राविधिक कार्यदल गठन गरेको थियो ।
विज्ञत्ति
“उक्त कार्यदलले अध्ययन गरी आवश्यक कार्ययोजनासहित एक प्रतिवेदन तयार पारेको र उक्त प्रतिवेदन सबै सम्बद्ध निकायसहित प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई उपलब्ध गराइएको छ,” प्रवक्ता केसीले विज्ञप्ति जारी गर्दै भनेका छन्, “यस बीचमा विश्व खाद्य तथा कृषि संगठनका विज्ञहरुसँग परामर्श गरी सलहका सम्बन्धमा प्राविधिक जानकारीहरु तयार गरी प्रकाशन गरिएको र विभिन्न संचारमाध्यमबाट प्रचार प्रसार गरिएको छ । जल तथा मौसम विज्ञान विभागसँग पनि निरन्तर समन्वयमा रही यस किराको सम्भावित प्रवेशको सम्बन्धमा अनुगमन गरिराखिएको थियो । नेपालमा मनसुन सुरू भैसकेको सन्दर्भमा यस कीराको प्रवेश हुने सम्भावना न्यून रहेको आकलन हुँदै गर्दा मौसममा खासगरी हावाको दिशा र गतीमा अचानक आएको परिवर्तनले यस किरा साना साना झुन्डहरुमा छरिएर आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।”
उनले दिएको जानकारीअनुसार सलहको संख्या, अवस्था फैलावट, क्षतिको आकलनलगायतका विषयमा जानकारी लिन संघीय निकायहरु र प्रदेश अन्तर्गतका प्राविधिकहरु परिचालित भैसकेका छन् ।