काठमाडौं । सरकारले रसुवागढी नाकाबाट दैनिक ५० मालवाहक गाडी भित्र्याउने तयारी गरेको छ । विगत ५ महीनादेखि ठप्प सो नाका सञ्चालन गर्न गत हप्ता दुई देशका अधिकारीहरूबीच उच्चस्तरीय छलफल भएको थियो । चिनियाँ पक्ष उच्च सुरक्षा सतर्कताका साथ नाका खुलाउन सहमत भएसँगै रसुवागढी भन्सार प्रमुखसहित अन्य कर्मचारीसमेत कार्यालयमा नियमित जान थालेका छन् ।
सो नाकालाई निर्बाध रूपमा सञ्चालन गरी समान जाँचपासलाई प्रभावकारी बनाउन आपूले सबै व्यवस्था मिलाएको भन्सार कार्यालय टिमुरेका प्रमुख पुण्यविक्रम खड्काले बताए । उनका अनुसार दैनिक ५० मालवाहक गाडी यसै साताबाट सो नाका हुँदै नेपाल भित्रनेछन् । यसअघि ६०–७० को हाराहारीमा मालवाहक गाडी भित्रने गरेका थिए ।
केरुङमा करोडौं रुपैयाँको मालसामान लोड भएर अड्किएका ३०० गाडी यसै हप्ता छुट्ने खड्काले बताए । रसुवागढीको मितेरी पुलमा चिनियाँ कन्टेनरले सामान ल्याइदिनेछ । नेपालले चीनतर्फ १० जना ड्राइभर र १५ जना कामदार तत्काललाई क्वारेन्टाइनमा राख्नेछ । उनीहरू ओहोरदोहोर गर्न पाउने छैनन् । तर, उनीहरूले नै नेपालबाट मितेरी पुल पुगेको गाडीमा सामान लोड गरी नेपाल ल्याउने र फर्केर चीनतर्फ नै बस्ने गरी व्यवस्था मिलाइएको छ । लामो समयदेखि चीनतर्फको उक्त नाका बन्द हुँदा केही स्वास्थ्य सामग्री सिन्धुपाल्चोकको तातोपानी भन्सारबाट आइरहेको छन् ।