धादिङ । असार २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भन्ने समाचार सत्य नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । महासंघका महासचिव एवं प्रवक्ता सरोज सिटौलाले शनिबार एक विज्ञप्ति प्रकाशित गरि असार २१ गतेबाट सार्वजनक यातायात संचालन गर्ने कुनै निर्णय नभएको स्पष्ट पारेका छन् ।
उनले भनेका छन्, ’सरकारले साउन ७ गतेसम्मका लागि लकडाउन थपेको छ । लकडाउन खुला गर्नेबारे सरकारले कुनैपनि ठोस निर्णयमा पुग्न नसक्दा नेपालको सार्वजनिक यातायातको क्षेत्रमा पनि अन्यौलता थपिएको छ । नेपालका केही सञ्चारमाध्याम मार्फत यहि असार २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भन्ने सुन्नमा आएपनि महासङ्घले यसबारे कुनै निर्णय नगरेको स्पष्ट पार्न चाहन्छु ।’
महासचिव सिटौलाले नेपालमा सार्वजनिक यातायात सञ्चालन गर्नेबारे महासङ्घले चाँडै नै सरोकारवाला निकायसँग बैठक बसेर निर्णय गर्ने जानकारी गराएका छन् । उनले सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको समस्याप्रति सरकार गम्भीर हुनुपर्ने भन्दै व्यवसायी, मजदूर र यात्रुलाई परेको मर्काप्रति संवेदनशील बन्दै धैर्य रहन आग्रह गरेका छन् ।
साथै महासङ्घले सार्वजनिक यातायात सञ्चालन गर्नेबारे मजदूर, व्यवसायी र सरकारसँग निरन्तर औपचारिक तथा अनौपचारिक रुपमा वार्ता र सम्वाद गरिरहेको महासचिव सिटौलाले जानकारी गराएका छन् ।