काठमाडौं । विगत ६ महिनादेखि बन्द रहेको चीनतर्फको रसुवागढी नाका आजदेखि संचालनमा आएको छ । भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले सोमबार बिहानदेखि नाका सञ्चालनमा आएको बताएका हुन्। उनले चिनियाँ पक्षद्धारा चार वटा सामानका गाडी मितेरी पुलसम्म ल्याइदिएसँगै रसुवागढी नाका एकतर्फी रुपमा संचालनमा आएको बताए । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर उच्च स्वास्थ्य सतर्कता अपनाएर सामान नेपाल भित्र्याइँदै गरिएको प्रमुख खड्काको भनाइ छ ।
यो नाका खुलाउनका लागि असार १० गते मितेरी पुलमा चीन र नेपालपक्षबीच भएको बैठकमा चिनियाँ पक्षले राखेको शर्त अनुसार नेपालमा आउने सामान चीनले आफ्नै कन्टेनर, चालक र श्रमिक प्रयोग गरि मितेरी पुलसम्म ल्याइदिने सहमती भएको थियो ।
तर, अनलोड भएको सामान लिन जाने चालक र सहयोगीको कोरोना परीक्षण अनिवार्य रहेको हुनुपर्ने चीनले शर्त राखेको थियो । सोहि अनुसार नेपाली पक्षले १५ जना चालक र १५ जना श्रमिकको कोरोना परीक्षण गरि क्वारेन्टाइनमा राखेको थियो ।