शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पहिरोले घर बगाउँदा सात जना बेपत्ता

पहिरोले घर बगाउँदा सात जना बेपत्ता

नागरिक पाटी

२६, आषाढ २०७७
  • 5.4K
    SHARES
  • पहिरोले घर बगाउँदा सात जना बेपत्ता

    म्याग्दी । लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए ।

    images
    images

    भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासीसमेत रहेका वडासदस्य लोकबहादुर पुनले बताए । माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका उनले जानकारी दिए । घण्टीवाङ मुनीको रिखामा छ घरको बसोबास थियो । चार घर विस्थापित भएका छन् । “गाउँबाट बाहिर निस्कने सबै बाटो पहिरोले बगाएको छ”, वडासदस्य पुनले भने, “पहिरो खसिरहेकाले हामीहरुको पनि भागाभाग छ ।”

    यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिए । घरका मानिसले भागेर ज्यान बचाएका छन् । भाग्ने क्रममा एक जना घाइते भएका छन् । यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाटस्थित बेलिब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए।

    नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएर बगाएको हो । सो पुल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउपालिका–३ राहुघाटको सिमानामा पर्छ । बेलिब्रिज बगाएपछि रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्कविच्छेद भएको छ ।

    गलेश्वरका स्थानीय दीपक कार्की बिखर्चीले ठेकेदारले पक्की पुल बनाउन ढिलाइ गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको जानकारी दिए । बेलिब्रिजको छेउमा पक्की पुल निर्माणको क्रममा छ । पहिरो प्रभावित मराङको रिखा र कल्लेनीमा ताकम, दरवाङ र बेनीबाट प्रहरी टोली पठाइएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताउनुभयो । प्रहरी टोली घटनास्थल पुगेपछि विस्तृत जानकारी आउने उनले बताए । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २६, २०७७ शुक्रवार - ०९:१२:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology