काठमाडौं । कोरोना संक्रमणबा६ नेपालमा थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २ र सिन्धुपाल्चोकमा थप एक जनाको मृत्यु भएको हो ।
काठमाडौं नयाँ बानेश्वरका एक ६० वर्षीय पुरुषको उपचारको क्रममा असार २६ गते मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनी १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय कोरोना संक्रमित व्यक्तिको पनि असार २५ मा नै मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । जेठ ३१ गते कोरोना परीक्षण गर्दा पोजेटिभ आएका उनको असार २५ मा नै मृत्यु भएको थियो । मिर्गौलाका बिरामी उनको काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
सिन्धुपाल्चोक जिल्ला पाँचपोखरीका अर्का एक कोरोना संक्रमितको पनि असार २५ गते पाटन अस्पतालमा नै मृत्यु भएको मन्त्रालयले जनाएको छ । क्षयरोगका बिरामी उनी असार १७ गते पाटन अस्पतालमा भर्ना भएका थिए । पछिल्लो घटनासंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । आज शनिबार कोरोनाका जम्मा ७० जना नयाँ संक्रमित थपिएका छन्।