धादिड. । नेपालमा शनिबारसम्म आठ हजार चार सय ४२ जना कोरोनाभाइरसका संक्रमित बिरामी निको भएर घर फर्केका छन्। यो तथ्यांक कोरोना संक्रमित भएकाहरू १६ हजार सात सय १९ को आधाभन्दा धेरै हो। आज शनिबार कोरोनाका जम्मा ७० जना नयाँ संक्रमित थपिएका छन्।
विगत केहि दिनयता कोरोना संक्रमितको संख्या घट्दो छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार तीन हजार छ सय ४८ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ७० जनामा कोरोना पुष्टि भएको हो।
विगत २४ घण्टामा कोरोना निको भएर चार सय ३१ जना घर फर्किएका छन्। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा अहिलेसम्म कोरोना पुष्टि भएका संक्रमितमध्ये ५० प्रतिशत मानिस निको भएर घर फर्किएको जानकारी दिएका छन।
कोरोनाबाट नेपालमा ३८ जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म दुई लाख ७९ हजार पाँच सय ९९ जनामा पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ। तीमध्ये दुई लाख ६२ हजार आठ सय ८० जनामा कोरोना देखिएन।