तनहुँ । तनहुँमा पहिरोले घर भत्किँदा १ किशोरीको मृत्यु भएको छ । अविरल वर्षापछि तनहुँको म्याग्दे गाउँपालिका र रिसिङ गाउँपालिका गरी फरक फरक स्थानमा पहिरोले घर पुरेको हो । पहिरोले अन्य १ जना घाईते भएका छन् भने ५ जना बेपत्ता छन् ।
म्याग्दे गाउँपालिका वडा ६, बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घरको भित्ता पुरिँदा १७ वर्षीया किशोरी लक्ष्मी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै रिसिङ गाउँपालिका वडा ८, पल्टयाङ भैसिलिकीका अनबहादुर थापाको २ वटा घर पहिरोले पुरिँदा ५ जना बेपत्ता भएका छन् । पहिरोले अनबहादुरकी श्रीमती ६० वर्षीया ज्योतिमाया थापा घाइते छिन् ।
राति साढे १ बजे घरमाथिबाट आएको पहिरोले घर पुरिँदा उनका जेठा छोरा ३० वर्षीय भेषबहादुर, बुहारी २९ वर्षीया नानुमाया, नातिनी ५ वर्षीया अमिषा बेपत्ता भएको प्रहरी नायव उपरीक्षक राजेन्द्रबहादुर रेग्मीले जानकारी दिए । यस्तै, अनबहादुरका कान्छा छोरा २२ वर्षीय महादेव र बुहारी १९ वर्षीया मनिसरा पनि बेपत्ता छन् ।