काठमाण्डौं । दार्चुलाको गुन्जी, कालापानी र लिम्पियाधुरालाई भारतीय क्षेत्र भन्दै त्यहाँ नेपालीको प्रवेश रोक्न पत्राचार गरेको गरेको भारतीय प्रशासनलाई नेपालले जवाफ पठाएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेखेर भारतले दाबी गरेको क्षेत्र नेपालको भएकोले दुःख नदिन भनेको छ ।
गृह मन्त्रालयको निर्देशनपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले धार्चुलाका जिल्ला अधिकारीलाई जवाफी पत्र लेखका हुन् । परराष्ट्र मन्त्रालयसँग समन्वय गरी जिप्रका दार्चुलालाई जवाफ लेख्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए ।
पत्रमा भारतले दाबी गरेको भूमि नेपालको भएको प्रस्ट भएकाले नेपालीलाई बाधा–अड्चन नगर्न भनिएको छ । दार्चुलाका सिडिओ पोखरेलका अनुसार पत्रमा ‘नेपाल र ब्रिटिस इन्डिया कम्पनीबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५ तथा त्यस समयमा प्रकाशित नक्साहरू र ऐतिहासिक तथ्य–प्रमाणबाट लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानीलगायत क्षेत्र नेपालको भूभाग रहेको कुरा स्पष्ट नै छ ।
यी नेपाली भूभागहरूमा नेपालीको आवतजावत स्वाभाविक नै रहेको हुँदा त्यसमा कहीं कतैबाट बाधा–अड्चन हुनु हुँदैन भन्ने नेपालको धारणा रहेको कुरा जानकारी गराउँछौँ’ भन्ने उल्लेख छ । पत्र इमेलमार्फत पठाइएको सिडिओ पोखरेलले बताए ।
भारतले कालापानी क्षेत्र ५८ वर्षदेखि कब्जा गरेको छ । नेपालीलाई छाङरुको सीतापुलभन्दा माथि जान अवरोध छ । त्यही क्षेत्रमा नेपालीहरू ‘चोरी–छिपी’ पस्न लागेको भन्दै भारतीय प्रशासनले पत्राचार गरेपछि नेपाली अधिकारी आश्चर्यचकित परेका थिए । नयाँ पत्रिका दैनिकबाट