धादिङ । सरकारले नारायणगढ–मुग्लिन सडक प्रयोग गरेवापत पहिलोपटक शुल्क असुल गर्ने निर्णय गरेको छ। १४ साउनमा सार्वजनिक मन्त्रिपरिषद्को निर्णय अनुसार ३७ किमीको यो सडक प्रयोग गर्दा हलुका सवारी साधनले रु.२५ र भारी सवारी साधनले रु.५५ सडक उपभोग दस्तुर तिर्नुपर्ने छ।
सडक मर्मतका नाममा लिइने यो दस्तुर सडक बोर्डले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत गरेको प्रस्तावमा सरकारले शुल्क लिन पाउने स्वीकृति दिएको हो।
बोर्डका प्राविधिक निर्देशक सागर ज्ञवालीका अनुसार सरकारले गरेको यो निर्णय अब राजपत्रमा सूचना प्रकाशन गरेर औपचारिक रुपमा अगाडि बढाइने भएको छ।
हाल बन्दाबन्दीका कारण लामो दूरीका सवारी सञ्चालनमा रोक लागेकाले १ भदौदेखि मात्रै यो सडक प्रयोग गर्ने सवारीको चाप हुने छ । बन्दाबन्दी शुरु भएदेखि बोर्डले दस्तुर लिने अन्य सात वटा सडकको पनि शुल्क लिएको छैन।
बन्दाबन्दी खुलेर सवारी चल्न थाले पनि अन्य क्षेत्रका सडकजस्तै मुग्लिन–नारायणगढ सडकमा पनि शुल्क लिइने ज्ञवालीले बताए। ज्ञवालीका अनुसार सरकारले स्वीकृति दिएकाले मुग्लिन–नारायणगढ सकडमा शुल्क असुली असोजदेखि शुरु हुन सक्ने बताएका छन ।
बोर्डका अनुसार सडकको नियमित मर्मतसम्भारका लागि स्रोत अभाव हुन नदिन यस्तो सडक उपभोग दस्तुर लिन लागिएको हो। बोर्डले देशैभरका सडकको आवश्यक मर्मतसम्भार गर्दै आएको छ । बोर्डले सबै प्रकारका सडकको नियमित तथा आवधिक मर्मत गर्ने गरेको छ।
बोर्डले मुग्लिन–नारायणगढको बीच भागमा पर्ने जुगेडीमा शुल्क उठाउने ढाट राख्ने उल्लेख छ । बोर्डका अनुसार कारदेखि बस ट्रकसम्मलाई शुल्क तोकिएकोले दुईपाङ्गे (मोटरसाइकल, स्कुटी) र तीन पाङ्ग्रे (टेम्पो)लाई भने शुल्क लिइने छैन।