काठमाडौं । नेपालले आफ्नो अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा अन्तर्राष्ट्रिय समुदायलाई पठाउने भएको छ । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित नेपाली भूमि समेटेर अद्यावधिक गरिएको नक्सालाई नेपालले अन्तर्राष्ट्रिय समुदायलाई पठाउन लागेको हो ।
गत मे १८ मा बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयले मे १८ मा अद्यावधिक गरेको नक्सा सार्वजनिक गरेको थियो । सीमा विवाद समाधानका लागि नेपालले गरेको पहल र ताकेतालाई बेवास्ता गर्दै भारतले गत मे ८ मा नेपाली भूमि लिम्पियाधुरा क्षेत्रमा बनाएको बाटो उद्घाटन गरेको थियो । यसपछि नेपालले पनि आफ्नो भूमिलाई समेटेर नक्सा अद्यावधिक गर्दै जारी गरेको हो । जस कारण अहिले नेपाल–भारतबीचको सम्बन्धमा चिसोपना बढेको छ ।
भारत वार्तामा बस्न नचाहेका बेला नेपालको अद्यावधिक नक्सा अँग्रेजी भाषामा छाप्ने काम भइरहेको छ । लिम्पिाधुरा, कालापानी र लिपुलेकलाई समेटेर अद्यावधिक गरेको नक्सालाई अँग्रजी भाषामा छाप्ने काम भइरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालकी प्रेस संयोजक देविका घर्ती मगरले क्यानडानेपाललाई जानकारी दिइन् । ‘नयाँ नक्सा अँग्रेजीमा छाप्ने काम भइरहेको छ’, उनले भनिन् ।
अँग्रेजीमा छापिएको नक्सा भारतसहित संयुक्त राष्ट्रसंघ र यसका विभिन्न निकाय तथा अन्तर्राष्ट्रिय समुदायमा नेपालले पठाउने तयारी गरेको हो । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर अद्यावधिक गरिएको नक्सालाई अन्तर्राष्ट्रिय समुदायमा पठाउने तयारी भइरहेको मन्त्री अर्याललाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ ।
अँग्रेजी भाषामा करिब चार हजार नेपालको नक्सा छाप्ने तयारी भएको छ । उक्त नक्सा संयुक्त राष्ट्रसंघ, यस मातहतका विभिन्न निकाय तथा भारतलगायत विभिन्न मुलुकमा पठाउने तयारी नेपाल सरकारले गरेको छ ।
नेपालको भूमि मिचेको भारत वार्तामा बस्न नचाहेका बेला नेपालको अद्यावधिक नक्सा अन्तर्राष्ट्रियकरण गर्ने कार्यले दिल्ली सरकारलाई कूटनीतिक दवाव सृजना गर्ने परराष्ट्रविद्हरु बताउँछन् ।