नौबीसे । जापान सरकारको सहयोगमा कुल रू.२२ अर्ब लगानीमा निर्माणाधीन नागढुंगा–नौबीसे सुरुङमार्गको मुख्य प्रवेशद्वार (काठमाडौंतर्फ) खन्ने प्रारम्भिक योजनामा ढिलाइ भएको छ । जेठको दोस्रो हप्तादेखि मुख्य सुरुङमार्गको प्रवेशद्वारमा प्वाल पार्ने प्रारम्भिक कार्यतालिका थियो तर कोरोना भाइरस र पछिल्लो समय वर्षायामले काम प्रभावित भएकाले यो काम भदौमा सरेको छ ।
आयोजना र जापानी कम्पनी हाज्मा आन्दो कर्पाेरेशनबीच भएको सम्झौताअनुसार जेठदेखि सुरुङमार्गको प्वाल पार्ने काम प्रारम्भ गर्नुपर्ने थियो । तर, करीब ३ महीनापछि अर्थात् भदौमा सुरुङमार्ग खन्न तथा प्वाल पार्ने काम शुरू गरिने आयोजनाले जानकारी दिएको छ । सुरुङमार्गमा प्वाल पार्न आवश्यक पर्ने ७० प्रतिशतभन्दा बढी उपकरणहरू आइसकेका छन् । अबको २० दिनपछि मुख्य द्वारमा प्वाल पार्ने काम शुरू गरिने भएको हो ।
यो आयोजनाको गतवर्ष कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । निमित्त आयोजना प्रमुख रूपक राजभण्डारीले सुरुङमार्ग प्वाल पार्न निर्धारित कार्यतालिकाअनुसार काम गर्न खोज्दाखोज्दै विषम परिस्थितिका कारण केही समय प्रभावित भएको बताए ।
अहिले सुरुङमार्गको भित्र काम गर्न सक्ने खालका उपकरणसमेत आइसकेको, कर्मचारी तथा कामदारलाई पनि आयोजनामा ल्याउने काम भइरहेकाले काम सुचारु हुने उनको भनाइ छ । वर्षायाम र कोभिडको प्रभाव कायमै रहेकाले निर्माणको प्रगतिमा असर पर्ने राजभण्डारीले बताए । बन्दाबन्दीका कारण ३र४ महीना आयोजनाको काम पूर्णरूपमा प्रभावित भएको थियो । बन्दाबन्दी खुला भएपछि घर गएका कामदारलाई सवारी पासको व्यवस्था गर्दै आयोजनाले कार्यस्थलमा ल्याइरहेको छ ।