काठमाण्डौं । नेपालमा पहिलो पटक कोभिड १९ संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ । ६५ वर्षीय संक्रमितलाई त्रिवि शिक्षण अस्पतालमा प्लाज्माथेरापी विधिबाट उपचार गरिएको हो । उनलाई कोरोना संक्रमणबाट निको भएका २६ वर्षीय युवकले प्लाज्मा दिएका हुन् । अस्पतालका कोभिड—१९ व्यवस्थापन संयोजक प्रा.डा. सन्तकुमार दासकाअनुसार सुरूमा एण्टीभाइरल रेम्डिसिभिर चलाइएको थियो । त्यसले पनि स्वास्थ्यमा सुधार नआएपछि प्लाज्माथेरापी गरिएको हो । उनलाई अब आईसीयूबाट निकाल्ने तयारी भइरहेको छ । ‘सुरुमा संक्रमितलाई ९० प्रतिशत अक्सिजन दिनु परेको थियो’ डा. दासले भने ‘प्लाज्मा थेरापीपछि २४ प्रतिशत मात्र अक्सिजन दिनुपरेको छ।’
विराटनगरका यी संक्रमितलाई केही दिनअघि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो । फोक्सोमा जटिल समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । प्लाज्मा थेरापी कुनै पनि रोगविरुद्धको प्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीलाई रोगविरुद्ध लड्न सक्ने बनाउने अभ्यास हो । कुनै पनि बिरामीलाई प्रतिरोधी क्षमता बढाउन सक्ने प्लाज्मा दिँदा उसमा पनि रोग प्रतिरोधी क्षमता विकास हुने र थप शक्तिसँग बिरामीले रोगसँग लड्न सक्छ भन्ने मान्यता यो विधिमा छ । यसको लागि एन्टिबडी विकास भएका मानिसको रगतबाट प्लाज्मा निकालिन्छ र त्यसलाई बिरामीको शरीरमा पठाइन्छ ।