काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १५ प्रहरीको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। डेढ सय बढी कर्मचारीको आइतबार स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो। अख्तियार स्रोतका अनुसार स्वाब पठाइएका मध्ये १५ जनामा कोरोना पुष्टि भएको हो।
यसअघि अख्तियारमा कार्यरत एक प्रहरी अधिकारी उपत्यकाबाहिर गएर फर्किएका थिए। उनमा कोरोना पोजिटिभ देखिएपछि अन्य सुरक्षाकर्मीसहित प्रन्टलाइनमा कार्यरत कर्मचारीको स्वाब संकलन गरिएको थियो।
१५ जनामा कोरोना पुष्टि भएपछि कन्ट्याक ट्रेसिङको काम सुरु भएको अख्तियार स्रोतको भनाइ छ। नेपालमा कोरोना भाइरसको संक्रमण दर विस्तारै बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या २० हजार ७५० पुगेको छ। कोरोनाले ५७ जनाको मृत्यु भइसकेको छ।