काठमाडौँ । आइतबारदेखि काठमाडौँ उपत्यकामा दुई साता अत्यावश्यकबाहेक सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरू दुई साता बन्द हुने भएका छन् । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू र तीनै वटै जिल्लाका जिल्ला समन्वय समितिका अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो ।
कोरोना भाइरसको महामारी फैलिइरहेका बेला आइतबारदेखि लागू हुनेगरी उपत्यकामा यो निर्णय गरिएको हो । यस्तै नाकाहरूमा समेत थप कडाइ गर्ने निर्णय भएको छ ।
बैठकले यो अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुने निर्णय गरेको छ । सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको वा नभएको चेकजाँच गर्ने र पालना नगरी सञ्चालन भएकालाई बन्द गरिनेछ ।
यस अवधिमा संक्रमण बढी देखिएको क्षेत्रलाई भने सिल गर्ने निर्णय भएको छ । यस्तै बैठकले उपत्यका भित्र कुनै किसिमको सभा, गोष्ठी, सेमिनार गर्न नपाइने निर्णय गरेको छ। पछिल्लो सम्य संक्रमणको जोखिम बढेको स्थितिलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।