काठमाण्डौं । परराष्ट्र मन्त्रालयले भारतीय विदेशमन्त्री एस जयशंकरले गौतमबुद्धको जन्मस्थलको बारेमा दिएको अभिव्यक्तिको विषयमा विवाद गर्नुपर्ने कुनै कारण नरहेको बताएको छ।
आज आइतबार प्रेस स्टेटमेन्ट जारी गर्दै परराष्ट्रले गौतम बुद्धको जन्मभूमि नेपाल हो भन्ने विषय ऐतिहासिक र पुरातात्विक ढंगले प्रमाणित भएर स्थापित तथा अकाट्य भइसकेको उल्लेख गरेको छ।
साथै सन् २०१४ मा नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै नेपालको संसदमा सम्बोधनका क्रममा नेपाल नै बुद्धको जन्मभूमि भएको भनेर भनेको विषयलाई पनि स्मरण गरेको छ। केही दिनअघि भारतीय विदेशमन्त्री एस। जयशंकरले गौतम बुद्धको जन्म भारतमा भएको अभिव्यक्ति दिएका थिए।
केही दिनअघि भारतीय उद्यमी तथा व्यापारीहरूको छाता संगठन भारतीय उद्योग परिसंघको ७५औं भर्चुअल कन्फ्रेन्सलाई सम्बोधन गर्ने क्रममा जयशंकरले उक्त अभिव्यक्ति दिएका थिए। आजसम्म हामी सबै दुईजना महान भारतीयहरूलाई चिन्दछौं। पहिलो, गौतम बुद्ध र दोस्रो महात्मा गान्धी। हामी मात्रै होइन, यी दुईजना महान भारतीयहरूलाई पूरै विश्वले जान्दछ,ू भारतीय विदेशमन्त्री जयशंकरले भनेका छन्।