फाइल फोटो
काठमाडौं। अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाइ उडान भदौ १ गतेदेखि यसअघि खोल्ने भनिए पनि नोबेल कोरोना भाइरसको सङ्क्रमण बढेसँगै तत्काल नखोल्न सिफारिस भएको छ । कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार साँझको बैठकले यातायात र हवाइ उडान भदौ १५ गते यता नखोल्न सिफारिस गरेको समितिका सदस्य सचिव तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले जानकारी दिए।
जनस्वाथ्यका मापदण्ड पालना नगरेका कारण कोरोना सङ्क्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष निकाल्दै बैठकले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
सीसीएमसीको बैठकले अन्तराष्ट्रिय सीमा नाकाहरुमा थप कडाई गर्न सिफारिस गर्दै दैनिक रुपमा किनमेल गर्न, कामदार ल्याउन हुने आवतजावततलाई पूर्ण रुपमा बन्द गर्न भनेको छ । बैठकले कोरोना सङ्क्रमित २ सयभन्दा बढी भएका जिल्ला र काठमाडौँ उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैँक तथा वित्तीय संस्था लगायत जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका निकायहरुलाई अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाहमा जोड दिने निर्णयसमेत गरेको छ ।
सीसीएमसीको बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट मात्र गर्ने प्रस्ताव गरेको छ । यही साउन ५ मा बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको थियो ।