काठमाण्डौं । झन्डै तीन महिनाको प्रत्यक्ष लकडाउनको परिस्थितिलाई समीक्षा गरेर सरकारले हाल अघोषित लकडाउनको नीति अख्तियार गरेको छ ।
चैत्र ११ गते मंगलबारदेखि लागू लकडाउन ५०औंं दिनपछि क्रमशः अप्रभावकारी हुँदै गएपछि सरकारले लकडाउन भन्ने शब्द उच्चारण नै नगरी व्यवहारतः लकडाउन उन्मुख गर्ने नीति अपनाएको हो । यसअघि व्यवसायीहरुले स्वःस्र्फूत रुपमा पसल खोल्न थालेपछि सरकारले लकडाउन बाध्य भएर खोल्न परेको अवस्थालाई संश्लेषण गरेर अहिले अघोषित लकडाउन कायम गरिएको जनस्वास्थ्यविज्ञ र गृह मन्त्रालयका अधिकारीहरुको विश्लेषण रहेको छ ।
अघोषित लकडाउनको नीति अपनाउँदा यश, जस र अपजस संघीय सरकारले मात्र लिन नपर्ने, राहत वितरणसँगै जोडिएको असन्तुष्टि नआउने, सबै सरकारी निकाय, स्थानीय तहले कोरोना नियन्त्रण गर्न आ–आफ्नो हिसाबले जिम्मेवार हुने अपेक्षा गृहका उच्च अधिकारीहरुको रहेको छ । ‘क्षेत्र हेरर लकडाउन गर्न र जहाँजहाँ संक्रमण बढ्छ, त्यहाँ, त्यहाँ सिल गर्न’ विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको सुझावअनुसार अघोषित लकडाउनको नीति अख्तियार गरिएको हो ।
सो भेलामा जनस्वास्थ्यविद् समीरमणि दीक्षितले लकडाउनको ढाँचा परिवर्तन गर्नुपर्ने सुझावहरु दिएको बताउनुभएको थियो । उहाँले ‘जहाँ–जहाँ संक्रमण छ, त्यहाँ लकडाउन कडा बनाउनुपर्छ । मान्छेलाई लकडाउन पूर्णरूपमा खुलेको होइन, खुकुलो मात्र भएको हो भन्ने सन्देश दिनुपर्दछ, राज्यले पनि खुला नभनीकन खुकुलो भन्ने शब्द चलाउनुपर्छ’ भनेर सुझाव दिनुभएको थियो ।
श्रावण १५ गतेदेखि काठमाडौं उपत्यका भित्रिने नाकाहरुमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मको कडाइ गरेको पनि उपत्यकामा क्रमशः भीडभाड कम गर्दै जाने नीतिको शुरुआत रहेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताउनुभयो । आजको नेपाल समाचार दैनिकमा खबर छ।