गल्छि । अपाङ्ग कल्याण सँघ धादिङले गजुरी गाउँपालिकालाई खाद्य सामाग्रीहरु प्रदान गरेको छ । विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस तथा बाढि पिडितहरुका लागि राहत होस् भन्ने उदेश्यले खाद्य सामाग्री वितरण गरिएको सँघका महासचिव गोविन्द खनालले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकालाई ३० बोरा अर्थात ७५० किलोग्राम चामल, १० बोरा अर्थात २५० किलोग्राम दाल, ५० लिटर तोरीको तेल, नुन १०० किलोग्राम र हातधुने साबुन १०० थान बितरण गरिएको छ । करिब १ लाख रुपैँया बराबरको सामाग्री वितरण गरिएको सँघका महासचिव खनालको भनाई छ ।
गाउँपालिकामा सञ्चालन भएको फुड बैँकमा खाद्य सामाग्री हस्तान्तरण गरेकोमा गाउँपालिकाले सँघलाई धन्यवाद दिएको छ । यसअघि पनि सँघले गल्छि गाउँपालिका र सिद्धलेक गाउँपालिकालाई मेडिकल सामाग्री हस्तान्तरण गरेको थियो । मरिक्नोल फादर एण्ड ब्रदर अमेरिकाको आर्थिक सहयोगमा सँघले गल्छि गाउँपालिकामा अपाँगता भएका व्यक्तिहरुको लागि सिलाई कटाई तालिम पनि सन्चालन गरिरहेको छ ।