धादिङ । नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माण शुरू भएको छ । शिलान्यास भएको झन्डै एक वर्षपछि राजधानी भित्रिने मुख्य नाकामा सुरङमार्ग निर्माण शुरू भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक २४ गते उक्त सुरुङमार्गको शिलान्यास गरेका थिए ।
विभिन्न समस्या र अवरोधलाई समाधान गर्दै मुलुककै ‘ड्रिम प्रोजेक्ट’का रूपमा उक्त सुरुङमार्गको निर्माण कार्य शुरू भएको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिए । उनले भने, “काठमाडौँ र धादिङ दुवैतिरबाट एकैसाथ सुरुङमार्गको निर्माण शुरू गरिएको छ, अब निरन्तर काम अगाडि बढ्ने छ ।” मुआब्जा विवाद र विस्फोटक पदार्थ आपूर्तिका लागि नेपाली सेनाले अनुमति नदिँदा निर्माण शुरू हुन सकेको थिएन ।
सुरुङमार्ग निर्माण स्थलको आकस्मिक अनुगमन गरेका विज्ञ थपलियाले अनुगमनका क्रममा आफूले निर्माणकार्य निरन्तर अगाडि बढाउन अब कुनै समस्या नरहेको पाएको जानकारी दिए । निर्माण कम्पनीको आयोजना निर्देशकको प्रत्यक्ष रोहवरमा २४ घण्टा काम भइरहेको छ । “निर्माणका क्रममा कुनै समस्या उत्पन्न भए यथाशीघ्र सम्पर्क गर्न आयोजना निर्देशकलाई भनेको छु,” उनले भने, “अब कुनै समस्या देखिँदैन, देखिएको नयाँ समस्यालाई यथाशीघ्र समाधान गरी कामलाई निरन्तरता दिइने छ ।”
सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले काठमाडौँ र धादिङबाट एकैसाथ सुरुङको मुख बनाउने काम भइरहेको जानकारी दिए । दुवैतिरको मुख निर्माण भइसकेपछि भित्र छिरेर दैनिक विस्फोट गराइने बताउँदै उहाँले अबको एक वर्षभित्र दुवैतिरबाट वारपार गर्न मिल्ने गरी प्रस्तावित सुरुङको प्वाल खोलिसकिने जानकारी दिए । करिब २।७ किलोमिटर लम्बाइको सुरुङमार्गको चौडाइ करिब १२ मिटर र उचाइ आठ मिटर हुनेछ ।
यो सुरुङमार्ग जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०को करिब १६ अर्ब सहुलियत ऋण र नेपाल सरकारले आन्तरिक स्रोतबाट छ अर्ब बेहोरेर निर्माण थालिएको हो । सरकारको नीति तथा कार्यक्रममा कुल लम्बाइ २।७ किलोमिटर रहेको यस सुरुङमार्गको आर्थिक वर्ष २०७७र७८ मा एक किलोमिटर निर्माण सम्पन्न गर्ने उल्लेख गरिएको छ । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।