फाइल तस्बिर
धादिङ । संविधान दिवस शनिबार मनाईँदै छ । २०७२ को अशोज ३ गते संविधानसभाले नयाँ संविधान जारी गरेको दिनको सम्झनामा हरेक वर्ष अशोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ ।
पहिलो संविधानसभा संविधान बनाउन असफल भएपछि दोस्रो संविधानसभाले संविधान बनाई जारी गरेको हो । नयाँ संविधान कार्यान्वयमा आएको पाँच वर्ष पूरा भएको छ ।
यो वर्ष कोरोना भाइरसको महामारीका कारण संविधान दिवसका अवसरमा सार्वजनिक कार्यक्रम हुने छैनन् ।
यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान दायित्व काँधमा आएको बताएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उनले संविधान दिवसको यस दिनले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यता कार्यान्वयन गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन् ।
संविधानको मर्म र भावनलाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नातर्फबाट । संविधानको कार्यान्वयनमार्फत नागरिकको हित र मुलुकको समृद्धि हाँसिल गर्न पनि राष्ट्रपतिले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७७ अवसरमा शुभकामना व्यक्त गरेकी हुन् ।
यस्तै संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष सम्बोधन गर्ने भएका छन्।
दिवसका अवसरमा काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा बिहान ९ बजेको विशेष समारोहमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले जननिर्वाचित संविधानसभाद्वारा जारी संविधान कार्यान्वयनको बाँकी काम यथाशक्य चाँडो पूरा हुने विश्वास व्यक्त गरेका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ का अवसरमा शुभकामना दिँदै उनले संविधानअनुसार बन्नुपर्ने कतिपय संरचनाको निर्माण र संविधान कार्यान्वयनका कतिपय काम बाँकी रहे पनि यसको पूर्ण कार्यान्वयन गर्न आजको दिनले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।