काठमाण्डौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्न माग गरेको छ । सोमबार झापा जिल्ला सेक्रेटरी श्रीजंगले एक विज्ञप्ति जारी गर्दै झापाका सबै स्थानीय तहलाई खर्च विवरण सार्वजनिक गर्न आग्रह गरेका हुन् ।
‘झापाका स्थानीय तहहरुले करोडौं खर्च गरेका छन् । जसको कुनै हिसाबकिताब छैन । र व्यवहारत कोरोना व्यवस्थापनको विषय भ्रष्टाचार गर्ने माध्यम बन्न पुगेको छ । कोरोना उपचार र व्यवस्थापनमा भएको खर्चको हिसाबकिताब सबै स्थानीय तहमार्फत तीन दिनभित्रमा सार्वजनिक गरियोस्’, विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै उनले निजी र सामूदायिक शिक्षण संस्थाहरुले शुल्क तिर्न अविभावकहरुलाई ताकेता गरेको भन्दै शुल्क नमाग्न पनि आग्रह गरेका छन् ।
‘निजी शिक्षण संस्थाहरुलाई सरकारी लुटेरा जनप्रतिनिधिहरुले साथ दिएर जनताको ढाड सेक्ने काम गर्न खोजिरहेका छन्, यो तुरुन्त बन्द गरियोस्’, विज्ञप्तिमा भनिएको छ । साथै विज्ञप्तिमा बैंक तथा लघुबित्तको किस्ता र ब्याज नतिर्न पनि आग्रह गरिएको छ ।