एजेन्सी । यूएईमा जारी १३औं संस्करणको आईपीएल टी- ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ । दुबईमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो ।
पन्जाबका लागि निकोलस पुरनले ७७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यसबाहेक पन्जाबका सिमरन सिंह र केएल राहुलले ११र११ रन जोडे । हैदराबादका लागि राशिद खानले ३ विकेट लिदा खलिल अहमेद र टी नटराजनले २र२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।
जितसँगै हैदराबादले ६ खेलमा ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पन्जाबको भने ६ खेलमा पाँच हार र एक जितसहित तालिकाको पुछारमा छ ।