काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । तत्कालीन अवस्थामा आकस्मिकबाहेकका अपरेसन नगर्न निर्देशन दिँदै सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अहिले आकस्मिकबाहेकका अपरेसन नगर्दा संक्रमित बिरामीलाई आईसीयू बेड र भेन्टिलेटर बेड उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सकिने बताए ।
यसैगरी अस्पतालहरुले विभिन्न होटलहरुसँग मिलेर आइसोलेसन केन्द्र सञ्चालन गर्न पाउने व्यवस्था पनि सरकारले गरेको छ । मन्त्रालयको स्वीकृति लिएर अस्पतालहरुले होटलहरुलाई आइसोलेसन सेन्टरका रुपमा सञ्चालन गर्न पाउनेछन् । यद्यपि त्यहाँ संक्रमितबाहेकका अन्य सर्वसाधारण राख्न भने पाइने छैन ।