मकवानपुर । मकवानपुरका गाउँगाउँसम्म सडक पुर्याउने लक्ष्यसहित काम भइरहेको छ । भिमफेदी गाउँपालिकाको ७ र ८ हुँदै कान्ति लोकपथ जोड्ने सडकको शिलान्यास गरिएको छ । पालिकाको कोगटे र धार्के हुँदै कान्ति लोकपथ जोड्ने सडकको प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले शिलान्यास गरे ।
गाउँको उत्पादन शहरसम्म पुर्याउने र शहरसँग सहज पहुँचका लागि पालिकाले आन्तरिक श्रोत परिचालन गरेर निर्माण गर्न लागेको सडकबाट स्थानीयलाई ठूलो राहत मिल्ने बताइएको छ । महभिरसम्म पुगेको सडकलाई थप बिस्तार गर्न गाउँपालिकाले भ्याटसहित ७५ लाख ९८ हजार २ सय ९७ रुपैयाँ खर्चेर काम गरिरहेको छ । सडकको काम गर्ने ठेक्का हेटौंडाको शास्वत कन्ट्रक्सनले पाएको छ ।
सडक शिलान्यास गर्दै सांसद खतिवडाले सडकले गाउँलेको जीवनमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । सडकसँगै यहाँको उत्पादन बजारसम्म जाने र गाउँमा आर्थिक उपार्जनमा जनताको सहभागिता बढ्ने उनको विश्वास छ ।