महादेबवेशी । युवा सिकाई केन्द्रको बार्षिक उत्सव कार्यक्रम धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ११ को महादेबबेशीमा बिहिबार मनाईएको छ । थाक्रे युवा परिषदका सँयोजक मधुसुदन रुपाखतीको अध्यक्षतामा भएको कार्यक्रममा थाक्रे गाउँपालिकाका ११ वटा वडाका युवा क्लबका युवाहरु सहित जनप्रतिनिधी लगायत विभिन्न सँघसँस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा थाक्रे युवा परिषदका कोषाध्यक्ष विनिता चेपाङले युवा परिषदको संयोजनमा १ वर्ष भरि भएको कार्यक्रमको बारेमा प्रगती प्रतिबेदन प्रस्तुत गनु भएको थियो ।
कार्यक्रममा सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले युवाहरुका भावना र चाहना अनुसारका केहि मात्र काममा सहजिकरण गर्न सकेमा समाजको विकासमा युवाहरुले ठूलो भूमिका निभाउन सक्ने बताउनु भएको छ । उहाँले आजका युवा भोली देशका खम्बा रहेको बताउनु हुँदै सिड्सले ब्रेड फर द वल्र्ड जर्मनको आर्थिक सहयोग र संथागत विकास सञ्जालको सहयोगमा विगत एक वर्ष देखि थाक्रे गाउँपालिकामा युवाहरुका सवालमा काम गर्दै आएको बताउनुभएको छ ।
कार्यक्रममा बोल्नु हुँदै थाक्रे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बलराम लम्सालले युवाहरुलाई शुभकामना दिनुहुँदै युवाहरुका लागि आवश्यक पर्ने विभिन्न खेलकुद सामाग्रीहरु गाउँपालिकाले समेत प्रदान गर्ने बताउनु भएको छ । युवाहरुका मागका आधारमा गाउँपालिकाले कार्यक्रम तय गर्ने उहाँको भनाई छ ।
कार्यक्रममा बोल्नु हुँदै जिल्ला समन्वय समितिका सदस्य उर्मिला रेग्मीले युवाहरुको जोश जाँगरलाई उच्च सम्मान गर्दै सबै युवाहरुलाई सहि बाटोमा हिँड्न सिकाउनु पर्ने बताउनु भएको छ । उहाँले स्थानिय तहहरुमा हुने विकास निर्माणका कामको ढिलासुस्ती सँगै अनेक समस्याहरुलाई उजागर गर्न पनि अनुरोध गर्नु भएको छ । उहाँले समाजमा भएका राम्रो कुरा लाई प्रचार प्रसार र नराम्रा कुरालाई निरुत्साहीत पार्ने काम युवाहरुको पनि भएकाले जागरुक भई अगाडी बढ्न आग्रह गर्नुभएको छ ।
यस्तै थाक्रे ११ का वडा अध्यक्ष रविप्रकाश ओझाले वडाको तर्फबाट युवाहरुका लागि आगामी दिनमा पनि सहयोग रहने बताउनुभयो ।
यसैगरी कार्यक्रममा दिगो विकासमा युवा सहभागिता परियोजनाका यशोदा विँडारीले युवाहरुलाई शुभकामना दिनुहुन्दै गित प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सिड्सका पदाधिकारी, विभिन्न सँघसँस्थाका प्रतिनिधीहरुलाई युवाहरुलाई आगामी कार्य योजनाको लागि शुभकामना दिनुभएको छ । यस्तै थाक्रे युवा परिषद, विभिन्न युवा क्लबका युवाहरुले आफ्नो सिकाई अनुभव आदान प्रदान गरेका छन् भने विभिन्न रचनाहरु पनि प्रस्तुत गरेका छन् ।
यसैगरी कार्यक्रममा ११ वटा वडामा सिड्स नेपाल धादिङद्धारा गठन गरिएको युवा क्लबलाई खेलकुद सामाग्री अन्तरगत फुटबल, भलिबल, व्याडमिन्टन वितरण गरिएको छ भने थाक्रे युवा परिषदलाई क्रिकेट ब्याट वितरण गरिएको छ ।