धादिङ । कोरोना महामारीले नौ महीनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा अब भने खुला हुने भएको छ। सम्बन्धित प्रदेश कार्यालयले एकैपटक लाइसेन्सको परीक्षा खुला गर्ने गरी आवश्यक तयारी गरिरहेकोले १५ पुसपछि खुल्ने भएको हो।
कोरोना महामारीका कारण ११ चैत २०७६ पछि बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा अब एक सातापछि खुल्ने भएको छ। सवारी चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फाराम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गततका यातायात कार्यायलबाट हुने भएकोले सोही अनुसारको आवश्यक व्यवस्था मिलाउने तयारी भइरहेको छ।
लाइसेन्सको परीक्षा र प्रयोगात्मक परीक्षा (ट्रायल) लिने विषयमा आवश्यक तयारी भएको र औपचारिक निर्णय मात्रै हुन बाँकी रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले बतायनु भएको छ।
उनका अनुसार सात वटै प्रदेशमा एकैपटक अनलाइन र प्रयोगात्मक परीक्षा (ट्रायल) खुलाउने काम एक सातामा नै हुन्छ। अर्को साता (१५ पुस) पछि सवारी चालक अनुमति पत्र दुवै प्रकारको सवारी साधन (चारपाङ्ग्रे र दुईपाङ्ग्रे)को परीक्षा खुल्ने गरी तयारी भइरहेको पनि भुसालले बताउनु भएको छ।