धादिङ । नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ। कोरोना सङ्क्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तीव्रता पाएको हो। सो सडकखण्डमा रहेका १९ पुलमध्ये यसअघि तीनवटा निर्माण भइसकेका छन्।
एउटा पुल अन्तिम चरणमा पुगेको छ। बाँकी १५ पुलका लागि गएको चैतमा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो। सम्झौताको ३३ महिनामा काम सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्शनले ठेक्का स्वीकार गरेको छ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर सविना रानाभाटका अनुसार ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ। प्याकेज १ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन्।
प्याकेज २ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोला गरी आठ पुल छन्।
प्याकेज १ को कूल ठेक्का रकम ६७ करोड ९९ लाख छ। पुल र नक्सांकनका लागि मात्र ५८ करोड ४० लाख छ भने अन्य रकम पोल सार्ने, बाटो फराकिलो बनाउने, नदी नियन्त्रणलगायतमा खर्च हुने उनले जानकारी दिए।
दोस्रो प्याकेजको कूल ठेक्का रकम ५९ करोड पाँच लाखमध्ये नक्सांकन र पुलका लागि ४९ करोड ६० लाख हो भने बाँकी रकम अन्य काम गर्ने गरी ठेक्का लगाइएको हो।
ठेकेदार कम्पनीलाई नक्सांकनसहित ठेक्का दिइएकाले कूल खर्चमा १० प्रतिशत तलमाथि हुनसक्ने आयोजनाले जनाएको छ। हालसम्म तीन पुल सेतीदोभान, जुगेडी र खहरेखोलाको नक्सांकन पुल महाशाखाले सदर गरी निर्माण समेत थालिएको छ।