धादिङ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक केरुङ नाका सञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका खुल्न लागेको हो ।
आजदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको र प्राविधिक कारणले एक दुई दिन विलम्ब भए पनि यो हप्ताभित्र केरुङ नाका खुल्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । केरुङ नाका नखुल्दा आयात/निर्यात ठप्प भएको छ ।
रसुवागढी भन्सारका कोरोना पोजेटिभ देखिएका मजदुर सङ्क्रमणमुक्त भइसकेको तथा उनीहरूले खोप लगाइसकेको सन्देश चिनियाँ अधिकारीलाई पुर्याउन नसकिएकाले समस्या भएको कार्यालयका प्रमुख रामप्रसाद रेग्मीको भनाइ छ ।
भन्सार कार्यालयसँग सम्बद्ध सुरक्षा निकायसहित सबै कर्मचारी कोरोनामुक्त रहेका उहाँले बताउनुभयो । केरुङबाट-रसुवागढी नाका हुँदै नेपालतर्फ रेडिमेड कपडा, कम्मल, घडी, जुत्ता, चप्पल, स्याउ, विद्युतीय तथा इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गरेको छ भने नेपालबाट जडिबुटी तथा हस्तकलाका सामग्री निकासी हुने गर्छ ।