काठमाण्डौं । जिल्ला समन्वय समिति भक्तपुरको तेस्रो जिल्ला सभा सम्पन्न भएको छ । जिसस प्रमुख नवराज गेलालको अध्यक्षतामा शुक्रबार सम्पन्न सभाले बाहिरी चक्रपथको भक्तपुर जिल्ला खण्ड अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।
काठमाडौँ उपत्यकाको समग्र यातायात र शहरी विकासलाई महत्वपूर्ण योगदान दिने बाहिरी चक्रपथ आयोजनाको भक्तपुर खण्ड अविलम्ब कार्यान्वयन गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरिएको जिसस प्रमुख गेलालले जानकारी दिए । सभाले मेलम्ची खानेपानी आयोजनाबाट निकट भविष्यमा वितरण हुन लागेको खानेपानी भक्तपुर जिल्लाको सबै स्थानीय निकायमा वितरण गर्न सम्बधित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यसैगरी सभाले अनुगमन कार्यविधि २०७५ पहिलो संशोधन स्वीकृत गरेकोे छ भने भक्तपुर जिल्लाको नदी खानी क्षेत्रबाट नदी तथा खानीजन्य पदार्थ उत्खनन, सङ्कलन तथा बिक्रीवितरण प्रक्रियाको अनुगमन, नियमनसम्बन्धी कार्यविधिलाई सभाले अनुमोदन गरेको छ । सभाले आव २०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेट स्वीकृत गर्नुका साथै कार्यालयमा रहेका जिन्सी मालसामान मिनाहा र लिलामका लागि नियमानुसार प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ ।
विभिन्न समयदेखि रहेको बेरुजुलाई नियमानुसार नियमित गर्ने, विभिन्न स्थानीय तह, सामाजिक संस्था र वडा कार्यालयलाई हस्तान्तरण भएका सामानको अनुमोदन गर्ने र दोस्रो जिल्लासभा पछि भएका कामको अनुमोदन गर्ने निर्णय गरेको छ ।
सभामा प्रमुख गेलालले आव २०७७र०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय तह, कार्यालयलगायतसँग समन्वय गर्ने कार्यलाई निरन्तरता गर्दै जाने, पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सुशासन, क्षमता विकास, खेलकूदको विकासतर्फ नगरपालिकाले ल्याण्डफिल्डको व्यवस्था गर्न जग्गा खोजी गर्ने, प्राकृतिक स्रोतको व्यवस्थापन, अनुगमनलगायतको कार्यक्रम प्रभावकारीरुपमा लैजाने बताए ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेले योजना, बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै आव ०७७र०७८ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फ सांसद प्रेम सुवालको क्षेत्र नं १ मा २७ वटा कार्यक्रममा भएको रु चार करोडको र भक्तपुर क्षेत्र नं २ का सांसद महेश बस्नेतको १८ वटा कार्यक्रमको रु चार करोडको बजेट एवं कार्यक्रम प्रस्तुत गरे ।
सोही कार्यक्रमतर्फ वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलको २० कार्यक्रममा रु तीन करोड, सुरेन्द्रराज गोसाईको १३ कार्यक्रमको रु तीन करोड, शशीजङ्ग थापाको १७ कार्यक्रमको रु तीन करोड र डा राजेन्द्रमान श्रेष्ठको १० कार्यक्रमको रु तीन करोड बजेटमा भएको विकास साझेदारी कार्यक्रम उनले प्रस्तुत गरे ।
जिससतर्फका मौज्दात कोष बाँडफाँटतर्फ चाँगुनारायण नगरपालिकाका लागि रु १० करोड ७० लाख, सूर्यविनायक नगरपालिकाका लागि रु सात करोड ४५ लाखको बजेट विवरण पेश भएको छ । त्यस्तै आव ०७७÷०७८ का लागि केन्द्रीय अनुदानतर्फ रु एक करोड ४१ लाख ६५ हजार, प्रदेशतर्फ रु ४५ लाख ८० हजारको बजेट प्रस्तुत गरे ।
सभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांसद नीतिनिर्माता भएको हुँदा निर्माणको जिम्मेवारी स्थानीयतहलाई दिनुपर्नेमा जोड दिँदै सङ्घ र प्रदेशले स्थानीय आवश्यकताअनुसार प्राथमिकताको आधारमा स्थानीयतहमा बजेट निकासा गर्नुपर्ने बताए । रासस