काठमाण्डौँ । बागमती प्रदेशको पाँच जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरी अक्सिजन उत्पादन गरिने भएको छ । ठूला अस्पतालहरूमा अक्सिजन प्लान्ट जडान गरेर अक्सिजन उत्पादन गर्न सुरु गर्ने प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशको त्रिशुली अस्पताल र सिन्धुली अस्पतालमा अक्सिजन प्लान्ट जडान गरेर उत्पादन सुरु भइसकेकोमा अब धादिङ र भक्तपुर जिल्ला अस्पतालसँग अक्सिजन प्लान्ट राख्न सम्झौता भई उत्पादनको अन्तिम चरणमा पुगिसकेको मन्त्रलायका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईले बताउनभयो ।
यस्तै मन्त्रालयले प्रदेशको राजधानी हेटौंडामा समेत ठूलो अक्सिजन प्लान्ट राखेर अक्सिजन उत्पादन गरी बिक्री गर्ने योजना बनाएको छ । प्रदेश सरकारले प्रति अक्सिजन प्लान्ट राख्न ८० लाख रुपैयाँ खर्च गर्दैछ ।
कोभिड–१९ को अहिलेको अवस्थामा प्रदेशमा अक्सिजन अभाव नहुने उनको भनाइ छ । पाँचै अस्पतालबाट अक्सिजन उत्पादन भएर सिलिन्डरमा भरेर अन्यत्र लैजान सकिने प्रवक्ता डा. सेढाईको भनाई छ ।