काठमाण्डौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज बिहान सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश तथा प्रदेश नं १ का केही भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बाँकी भू–भागमा सामान्य देखि पूर्ण बदली रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका तराईका भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।