धार्के, धादिङ । धादिङको धुनीबेशी नगरपालिकाले अक्सिजनसहित २० बेडको कोभिड १९ आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । नगरपालिका वडा न ७ अमरेचौरस्थित मछिन्द्र बहुमुखी क्याम्पसको भवनमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो ।

आइसोलेसन सेन्टरमा नेपाल रेडक्रस सोसाइटी धुनीबेशी धादिङको तर्फबाट १० थान कम्बल, ५ थान ब्लाङकेट र सरसफाइ सामाग्री समेत प्राप्त भएको नगर प्रमुख बालकृष्ण आचार्यले बताएका छन् ।

त्यस्तै नगरपालिकाले कोभिडको शंका लागेका (लक्षण देखिएमा) नागरिकहरुको छत्रेदेउराली स्वास्थ्य चौकी, जीवनपुर स्वास्थ्य चौकी र नौविसे स्वास्थ्य चौकीमा आज आइतबारबाट कोरोनाको स्वाव टेस्ट गरिने नगर स्वास्थ्य शाखाले बताएको छ ।