पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन्। उनले विश्वासको मत प्राप्त गर्न नसके प्रदेश सभा विघटनतिर जानेछ।
मुख्यमन्त्री पोखरेलले आज प्रदेश सभामा विश्वासको मत लिन लागेको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए। यसका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बोलाइएको छ।
प्रदेश सभामा सबैभन्दा ठूलो दलका रुपमा रहेको नेकपा (एमाले)का पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन नकसेपछि संविधानको धारा १६८ को उपधारा ५ बमोजिम पोखरेल मुख्यमन्त्री नियुक्त भएका थिए। यस उपधारा अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
उनी मुख्यमन्त्री नियुक्त भएको सात दिनमै विश्वासको मत लिन लागेका हुन्। प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता पोखरेल नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री भएका थिए।
अहिले गण्डकी प्रदेश सभामा ५९ सदस्य छन्। राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई सांसदबाट हटाएको छ। अब विश्वासको मतका लागि ३० सांसद आवश्यक पर्छन्।
अहिले कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), जसपाका दुई, जनमोर्चाका दुई र एक जना स्वतन्त्र सांसद छन्। मुख्यमन्त्री नियुक्त हुँदा पनि उनले यी सबैको गरी ३१ सांसदको समर्थन देखाएका थिए। प्रदेश सभामा नेकपा (एमाले)का २७ सांसद छन्।
आज उनले विश्वासको मत लिन नसके प्रदेश सभा विघटनतिर जानेछ। संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश सभा विघटन गरी ६ महीनाभित्र मध्यावधि चुनावका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गर्नसक्ने व्यवस्था रहेको छ।