धादिङमा बजार अनुगमनको क्रममा ठूलो संख्यामा म्याद गुज्रिएका पेय पदार्थ (सफ्ट ड्रिंक्स), चकलेट, मसला, गहुँको पिठो, तेल, सुजी, बिस्कुट जस्ता उपभोग्य सामग्री भेटिएका छन् जसबाट उपभोक्ता स्वास्थ्यमा गम्भीर असर पर्ने देखिन्छ । त्यसैगरी पसलमा मूल्यसूची नराखेको, राखेको भए अद्यावधिक नगरेको, केही पसलहरू बिना दर्ता सञ्चालन गरेको, बिल बिजक नराखेको, अनुमति नलिई मदिरा तथा सूर्तीजन्य पदार्थहरू बिक्री गर्ने गरेको पाइएकोले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ११ (बिक्रेताको दायित्व) मा भएको व्यवस्था र कानूनबमोजिम अन्य दायित्व पुरा गर्न सरोकारवाला व्यवसायी तथा बिक्रेता वर्गमा अनुरोध छः
निम्नः
१. तोकिएको उद्देश्य विपरित वा अनुमति नलिई कुनै पनि कारोबार नगर्ने ।
२. बिना भेदभाव उपभोक्तालाई वस्तुको बिक्री गर्ने ।
३. पहिले आउने उपभोक्तालाई पहिले वस्तु बिक्री गर्ने ।
४. वस्तुको किसिम वा प्रकृति अनुसार गुणस्तरमा ह्रास नआउने गरी सुरक्षित रुपमा भण्डारण गरी राख्ने र सुरक्षित रुपमा बिक्री गर्ने ।
५. म्याद गुज्रिएका सामग्रीलाई छुट्टै ुएक्सपायर जोनु मा राखी तुरुन्त फिर्ता गर्ने वा नष्ट गर्ने ।
६. सम्बन्धित निकाय वा पदाधिकारीले माग गर्दा आफूसँग रहेको वस्तुको मौज्दात वा विवरण उपलब्ध गराउने ।
७. सर्वसाधारणले स्पष्ट रुपमा देख्ने र बुझ्ने गरी वस्तुको मूल्य सूची राख्ने । तोकिएको भन्दा बढी मूल्य नलिने ।
८. सबैले देख्ने गरी साइनबोर्ड राख्ने ।
९. वस्तुमा कुनै किसिमको ग्यारेन्टी वा ग्यारेन्टीको व्यवस्था भएमा त्यस्तो व्यवस्थाको पालना गर्ने ।
१०. उपभोग्य वस्तु बिक्री गरेपछि त्यसको बिल वा रसिद दिने ।
११. नापतौल सम्बन्धी उपकरणको प्रमाणीकरण र नवीकरण गर्ने ।
१२. उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन र उपभोग्य मिति जस्ता लेबलमा खुलाउनु पर्ने कुराहरु स्पष्ट उल्लेख नभएका वस्तुहरू बिक्री नगर्ने ।
१३. आफ्नो फर्मको स्थायी लेखा (पान) नं., भ्याट दर्ता नं. सबैले देख्ने गरी राख्ने ।
१४. कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि आवश्यक स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्ने ।
१५. तोकिए बमोजिमका अन्य दायित्व पुरा गर्ने ।
- जिल्ला प्रशासन कार्यालय धादिङ