मकवानपुर । मकवानपुरको थाहा नगरपालिका कार्यसम्पादनको आधारमा यसपटक पनि जिल्लामा पहिलो स्थानीय तह हुन सफल भएको छ । मकवानपुरका १० स्थानीय तहहरु मध्ये उत्कृष्ट कार्यसम्पादन गर्नेमा थाहा नगरले ह्याट्रिक गर्न सफल भएको हो । यसअघिका दुई आर्थिक वर्षमा पनि थाहा नगरपालिका नै पहिलो भएको थियो ।
जिल्ला समन्वय समितिले गरेको कार्य प्रगतिको मुल्यांकनको आधारमा मनहरी गाउँपालिका दोस्रो भएको र बकैयाँ गाउँपालिका तेस्रो भएको छ । जिल्ला समन्वय समिति मकवानपुरले आज भएको छैठौं जिल्ला सभामा प्रथम, द्धितिय र तृतीय हुने तीन स्थानीय तहलाई सम्मानपत्र प्रदान गरेको छ ।
जिल्ला सभाका प्रमुख अतिथि बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले थाहा नगरका प्रमुख लवशेर विष्ट, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती र बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेलाई सम्मान पत्र प्रदान गरेका थिए । । यसैगरी जिल्ला समन्वय समितिले आफ्नो छैठौं जिल्ला सभामा जिल्लाका विभिन्न संघ संस्था तथा व्यक्तिलाई समेत सम्मान गरेको छ ।