नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बिहीवार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको यही मङ्सिर १० देखि १२ गतेसम्म हुने पार्टीको महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको हो ।
यसअघि विधान महाधिवेशनको समापनको क्रममा अध्यक्ष ओलीले पार्टीको १० औँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गर्नुभएको थियो । तर आजको बैठकले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकले पार्टी स्थायी कमिटीका सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन कमिटीसमेत गठन गरेको छ । प्रवक्ता ज्ञवालीले महाधिवेशन मूल व्यवस्थापन कमिटीमा नेताहरू योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा। राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावलसहित सातै प्रदेशबाट एकरएक जना प्रतिनिधि र सम्पर्क समन्वय कमिटीबाट समेत एक जना प्रतिनिधि रहने बताउनुभयो ।