सडक फराकिलो बनाउन खनेर छाडेको खाल्डोमा परी आइतबार दिउँसो एउटा गैंडा मारिएको छ । पूर्वपश्चिम राजमार्गको भरतपुर गोन्द्राङ खण्डलाई ६ लेन बनाउन खनिएको खाल्डो नपुर्दा त्यसमा परेर करिब ११ वर्षको भाले गैंडा मारिएको हो ।
‘गैंडा ठ्याक्कै नालामा परेको भने होइन । नाला त फराकिलो छ । नालाको पर्खाल ९वाल० ढलानका लागि फलेकहरू राख्न मिल्ने बनाउन आडमा कुलो जस्तो अर्को खाल्डो खनिएको थियो, त्यसैमा परेको हो,’ भरतपुर डिभिजन सडक कार्यालयका इन्जिनियर शिव खनालले भने । सडक सीमादेखि दक्षिण परेको हुनाले घटना भएको ठाउँ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्छ । एक साताअघि नै नाला ढलानको काम सकिएको थियो । तर ठेकेदारले खाल्डो नपुरी छाडेका थिए ।
पुल्चोकदेखि गोन्द्राङसम्म ६ किलोमिटर सडकलाई ६ लेन फराकिलो बनाउन गत वर्षको कात्तिकमा काम सुरु भएको हो । विस्तार हुने सडकको ३० मिटर जति भाग बरन्डाभार जंगल क्षेत्रमा पर्छ । यो वन्यजन्तुको ओहोरदोहोर भइरहने क्षेत्र हो । ‘काम सकिएकै रहेछ, त्यो कुलोजस्तो खाल्डो पुरेको भए दुर्लभ गैंडा यसरी मारिने थिएन,’ चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले भने, ‘बरन्डाभार क्षेत्रको संवेदनशील अवस्थालाई बुझेर त्यहीअनुसार निर्माणको काम गर्नुपर्ने थियो, त्यसो नभएको देखिन्छ ।’ आइतबार दिउँसो जंगलमा दुईवटा गैंडा आपसमा जुधेका थिए । हारेको गैंडा भाग्दै गर्दा खाल्डोमा परेको तिवारीले बताए । कान्तिपुर दैनिकमा खबर छ ।