शिक्षा मन्त्रालयको निर्णय पालिकाहरूले अवज्ञा गरेपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डीसीएमसी) को निर्देशनमा माघ मसान्तसम्म विद्यालय बन्द गरिने भएको छ । सीसीएमसीको सिफारिसअनुसार यसअघि शिक्षा मन्त्रालयले गरेको निर्णय पूर्ण रूपमा कार्यान्वयन नभएपछि प्रमुख जिल्ला अधिकारी नेतृत्वको डीसीएमसीलाई अधिकार दिन लागिएको हो ।
शिक्षा मन्त्रालयले यसअघि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर आफ्नो पालिकामा कोभिड महामारीको जोखिम न्यून रहेको भन्दै केही स्थानीय तहले भौतिक उपस्थितिमा नै पठनपाठनलाई निरन्तरता दिएका छन् । पछिल्लो पटक सीसीएमसीले माघ मसान्तसम्म विद्यालय बन्द गर्नुपर्ने राय दिएको छ । उक्त रायसहित विद्यालय बन्दका लागि गृह मन्त्रालय र शिक्षा मन्त्रालयमा सिफारिस गरिएको सीसीएमसीका सचिव रामप्रसाद थपलियाले जानकारी दिए । ‘यसमा डीसीएमसीलाई नै बढी भूमिका दिने भनिएको छ, हामीले लेखेर पठाइसकेका छौं,’ उनले भने ।
काठमाडौं, ललितपुर, भक्तपुर, कास्कीलगायत जिल्लाका डीसीएमसीले माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरिसकेका छन् । १५ गतेसम्मका लागि बन्द गरिएका विद्यालय अहिले विद्यार्थीलाई खोप लगाउन खुलेका छन् । २० गतेसम्म विद्यालयमा खोप कार्यक्रम सञ्चालन हुने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाए । कान्तिपुर दैनिकबाट