नयाँदिल्ली । नेपाल, भारत र बंगलादेशबीच निर्विवाद रूपमा सडक यातायात सञ्चालन गर्ने कार्यदिशामा नेपाल, भारत र बंगलादेशले अग्रसरता देखाएका छन् । दिल्लीमा सोमबार र मंगलबार चलेको तीनै देशका अधिकारीले यातायात सञ्चालनमा आइपर्ने समस्या र तिनको समाधानका सन्दर्भमा छलफल गरेका हुन् ।
त्रिदेशीय यातायात सञ्चालनमा आइपर्ने सम्भावित समस्या र त्यसका लागि गरिनुपर्ने सामूहिक क्रियाकलापहरूलाई पहिचान गर्न विभिन्न उपसमिति गठन गरिने भएको छ । यसअघि भुटानसहित चार देशबीच नै सडक यातायातलाई सहज बनाउने सहमति थियो । तर अहिलेलाई भुटानले आफूलाई यसबाट अलग राखेको छ । सन् २०१५ मा बंगलादेश, भुटान, इन्डिया र नेपाल सडक यातायात सञ्चालन गर्ने विषयमा सहमति बनेको थियो, जसलाई बीबीआईएन मोटर भेहिकल एग्रिमेन्टका नामले चिनिन्छ । यही बीबीआईएनको वर्किङ कमिटी बैठक दिल्लीमा बसेको हो । भुटान त्यसमा पर्यवेक्षकका रूपमा मात्रै सामेल छ ।
बीबीआईएन अवधारणालाई भुटानबाहेक तीनै देशका संसद्ले स्वीकृति प्रदान गरिसकेका छन् । तर भुटानको संसद्ले त्यस सहमतिलाई अनुमोदन नगरेपछि भुटानले आफूलाई बाहिर राखेको छ । तर पछि जोडिन सकिने सम्भावनालाई हेर्दै पर्यवेक्षकका रूपमा बैठकमा सामेल हुँदै आएको छ । सार्क देशहरूमै यातायातलाई सहज बनाउने अवधारणाबाट उठेको यो विषय पछि भारत–पाकिस्तानबीचको विवादले अगाडि बढ्न नसकेपछि चार देशबीच सहमति भएको ७ वर्ष भइसक्दा पनि गति लिन सकेको छैन ।
दिल्लीको बैठक त्यसैलाई कार्यान्वयनमा लैजाने विषयमा केन्द्रित थियो । नेपालबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा नेतृत्वको टोली बैठकमा सहभागी थिए । टोलीमा उद्योग, परराष्ट्र, गृह, कानुन मन्त्रालयका अधिकारी पनि थिए । भुटान अहिलेलाई बाहिर रहेकाले नेपाल, भारत र बंगलादेशबीच सडक यातायातबाट सवारीसाधन ओहोरदोहोर गराउने विषयमा छलफल केन्द्रित रहेको शर्माले बताए । ‘कार्यान्वयन पक्षमा देखिएका चुनौती, समस्याको पहिचान र त्यसको समाधानका उपाय सन्दर्भमा छलफल भइरहेको छ,’ उनले भने, ‘छलफलपछि आउने निष्कर्षलाई सम्बन्धित देशका सरकारले स्वीकृति दिएपछि थप कुरा अघि बढ्नेछ ।’आजको कान्तिपुर दैनिकमा खबर