महोत्तरी । मध्य तराईमा केही दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बन्न थालेको छ । वैशाखमै उच्च गर्मी हुन थालपछि असार साउनमा के होला भनेर स्थानीय चिन्तित हुन थालेका छन् ।
गर्मीका कारण यस क्षेत्रका सर्वसाधारण अत्यावश्यक कामबाहेक बाहिर निस्कन कम गरेका छन् । जसका कारण बजार क्षेत्र सुनसान देखिन थालेको छ ।
यता बढ्दो गर्मीका कारण किरा फट्याङ्ग्राको बिगबिगी भएको छ । जसले बालीनाली सखाप पार्ने किसानको चिन्ता बढेको छ । पछिल्लो केही बर्षयता जाडोयाममा अत्याधिक जाडो र गर्मीयाममा अत्याधिक गर्मीका महोत्तरीलगायत मध्य तराईका जिल्लाको जनजीवन प्रभावित बन्ने गरेको स्थानीय युवा विजय दास सुनाउँछन् ।
उनका अनुसार तापक्रमको अस्वभाविक घटबढले जनजीवनमा मात्रै परिवर्तन ल्याएको छैन अन्न उत्पादन समेत घटेको छ । महोत्तरी किसानगरका अब्दुल रसिदले किरा फट्याङ्ग्रा प्रकोपले बालीनालीमा यति ठुलो हस आउँछ भन्ने सोचेका पनि थिएनन् । तर, किराको प्रकोप, रासायनिक मल तथा औषधि जथाभावी प्रयोगले स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको उनको बुझाइ छ ।
तापक्रममा भइरहेको अस्वभाविक परिवर्तनले महोत्तरीमा प्राकृतिक विपत्तिको जोखिम पनि बढिरहेको छ । अस्वभाविक बर्षाद कै कारण बाढीपहिरो तथा डुबानको समस्या भइरहेको छ ।