शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उचित व्यवस्थापन नभएसम्म बन्चरेमा फोहोर फाल्न नदिने स्थानीयको अडान

उचित व्यवस्थापन नभएसम्म बन्चरेमा फोहोर फाल्न नदिने स्थानीयको अडान

नागरिक पाटी

१२, जेठ २०७९
  • 5.8K
    SHARES
  • उचित व्यवस्थापन नभएसम्म बन्चरेमा फोहोर फाल्न नदिने स्थानीयको अडान

    धादिङ । धादिङको धुनिबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका स्थानीयबासी र जनप्रतिनिधिहरूले बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा बिसर्जन गर्न नदिने अडान राखेका छन् । स्थानीय क्षेत्रमा बासिन्दालाई उचित क्षतिपूर्ति, मुआब्जा र विभिन्न पूर्वाधारहरुको सुनिश्चितता नगरेसम्म दीर्घकालीन रुपमै फोहोर व्यवस्थापन गर्न नदिने उनीहरुको अडान छ ।

    images
    images

    सहरी विकास मन्त्रालयमा बुधबार बसेको सरकारावाला बैठकमा धादिङका प्रतिनिधिसभा सदस्य भूमि त्रिपाठीले प्रभावित क्षेत्रमा प्राविधिक टोलीमार्फत अध्ययन गरेर सरकारले जग्गा अधिग्रहण गर्नुपर्ने सुझाव दिए । नुवाकोटका सांसद हितबहादुर तामाङले फोहोर व्यवस्थापनमा देखिएका समस्या दीर्घकालीन समाधान र बन्चेरडाँडा क्षेत्रको मुद्दामा सरकार संवेदनशील बन्नुपर्ने बताए ।

    धुनीबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले साइट व्यवस्थापन सबैको साझा दायित्व भएकाले व्यवहारिक पक्षमा सरकारले नजरअन्दाज गर्न नमिल्ने बताए । फालिएका फोहोर उचित रूपमा व्यवस्थापन हुन नसकेमा भविष्यमा समस्या आउने भएकाले गम्भीर बन्न उनले आग्रह गरे ।

    ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले सरकारले फोहोर व्यवस्थापनलाई नीतगत रुपमा भन्दा पनि कार्यक्रम बनाएर कार्यान्वयन गर्ने गरी हेर्न आग्रह गरे । बन्चरे डाँडामा फोहोर फाल्दा प्रभावित हुनेहरुले वैज्ञानिक व्यवस्थापन होस् भनेर माग गरेको बताए । ककनी गाउँपालिका(३ का वडाध्यक्ष घननाथ बजगाइँले गाउँ कार्यपालिकाबाटै फोहोर विसर्जन गर्न नदिने गरी निर्णय गर्न लागिएको बताए ।

    ‘हामीलाई सोधेर, छलफल गरेर त्यहाँ डम्पिङ साइट बनाएको हैन,’ उनले भने,’हामीसँग फोहोर बिसर्जनबारे छलफल पनि भएको छैन, गाउँ कार्यपालिका बैठकबाटै फोहोर बिसर्जन गर्न नदिने निर्णय गर्दैछौं ।’

    उनले सो क्षेत्रमा फोहोर प्रभावित क्षेत्रलाई मुआब्जाका लागि ९ अर्ब रुपैयाँ लाग्ने भएपनि सरकारले तत्कालै त्यस्तो रकम उउपलब्ध गराने अवस्था नदेखिएकाले फोहोर बिसर्जन गर्न दिन नसकिने बताए ।

    ‘एक हजार प्रहरी लगाएर कहिलेसम्म फोहोर लैजानेरु’ उनले प्रश्न गरे,’घर९घरमा पसेर स्थानीयबासीलाई कुटपिट गर्दै फोहोर लगिंदैछ, फोहर पनि सडक खन्याएर फर्किने काम भइरहेको छ, यसको हामी निरन्तर विरोध गर्छौं ।’

    बैठकमा मन्त्री झाँक्रीले स्थानीबासीको जायज मागहरुको सम्बोधन गरिने बताइन् । त्यसका लागि विगतदेखि नै प्रयत्न भइरहेको भन्दै उनले नाजायज माग राखेर फोहोरमाथि राजनीति नगर्न आग्रह गरिन् ।

    जनतालाई समस्या पर्न नदिन संघीय सरकार पनि संवेदनशील रहेको भन्दै उनले अब निरन्तर रुपमा बन्चरेडाँडामै फोहोर बिसर्जन गरिने बताइन् ।

    मंगलबार विहानदेखि बन्चरे डाँडामा बनिरहेको डम्पिङ साइटको सेल९१ मा फोहोर बिसर्जन भइरहेको छ । शहरी विकास मन्त्रालयले बनाएको बन्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर बिसर्जन सुरु भएपछि स्थानीयबासी आन्दोलित छन् ।

    स्थानीयले विगतबाटै विभिन्न माग राखेर बन्चरेडाँडामा हालकै अवस्थामा फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आएका थिए । तर सोमबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकले बल प्रयोग गरेर भए पनि बन्चरेडाँडामा फोहोर बिसर्जन गर्ने निर्णय गरेको थियो । अहिले फोहोर बोकेका गाडीहरु बन्चरेडाँडा पुग्दा प्रहरीले सुरक्षा दिइरहेको छ ।

    स्थानीयले भने आफूहरुसँग समन्वय नगरेको र आफ्ना माग सम्बोधन नगरी फोहोर बिसर्जन गर्न सुरु गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    सिसडोलस्थित ल्याण्डफिल साइट भरिएपछि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन हुन कठीन भएको थियो । बन्चरेडाँडामा फोहोर फाल्न सुरु गरेपछि अब सहज हुने विश्वास छ ।

    बन्चरेडाँडासम्म सिसडोलको बाटो हुँदै जानुपर्छ । त्यहाँको बाटो राम्रो नभएकाले तत्कालका लागि ग्राभेल गरेर फोहोर बोकेका गाडीहरु आउ/जाउ गर्ने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

    स्थानीयबासीले फोहोरका गाडी फेरि रोक्न सक्ने अवस्था रहेकाले दीर्घकालीन रुपमै स्थानीयको माग सम्बोधन गरेर समाधान निकाल्नुपर्ने पक्षमा महानगरपालिका छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १२, २०७९ बिहिवार - १०:५४:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology