नेकपा एमालेको आज बस्ने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ । राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न ९ समूह विभाजन गरिएको छ।
प्रतिवेदनमा समूहगत छलफलपछि अध्यक्ष ओलीले आजै जवाफ दिने र केन्द्रीय कमिटी सकिने एमालेले जनाएको छ । एमालेको केन्द्रीय कमिटी बैठक हिजोदेखि पार्टी कार्यालय ललितपुर च्यासलमा सुरु भएको हो। आजको बैठक बिहान साढे १० बजे बोलाइएको छ।
बैठकमा अध्यक्ष ओलीले नागरिकता, गठबन्धन सरकार, पालिका चुनावदेखि मंसिरमा हुने सङ्घ र प्रदेशको चुनावी तयारीसम्मका विषय समेटेर प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमा पालिका चुनावको परिणाम बिर्सेर आउँदो चुनावको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिइएको छ।
प्रतिवेदनमा वर्तमान सरकार र सत्ता गठबन्धनका कारण राष्ट्रियता, लोकतन्त्र र जनजीविकामा गम्भीर सङ्कट निम्त्याएको उल्लेख छ । यस्तै पार्टीलाई बहुमतका लागि १६ प्रतिशत मतको अभाव रहेको भन्दै त्यसको पूर्ति गर्न आवश्यक कदम चाल्ने पनि अध्यक्ष ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।