नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नयाँ र नागरिकले रूचाएका व्यक्तिलाई उम्मेदवार बनाइने बताएका छन् ।
माओवादीको उपत्यका विशेष प्रदेश समितिको आयोजनामा आज सोमवार आयोजित वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रममा पार्टी र नागरिकले सोच्दै नसोचेको व्यक्तिलाई पार्टीले उम्मेदवार बनाउने उल्लेख गर्दै उनले भने, ‘नयाँ व्यक्तिलाई उम्मेदवार बनाउँदा जनता तथा नेता, कार्यकर्ताले पनि माओवादीले राम्रो गर्यो भन्ने ढङ्गबाट नसोचेका उम्मेदवारको सिफारिस गरिन्छ ।’
कार्यक्रममा बोल्दै प्रचण्डले काठमाण्डौ उपत्यकामा पार्टीको अवस्था सुदृढीकरण गर्न विशेष नीतिगत र संरचनागत व्यवस्था गरिने बताए । काठमाण्डौ, भक्तपुर र ललितपुरमा पार्टी विस्तार गर्न नयाँ अभियान सञ्चालन गरिने उनको भनाइ छ । ‘काठमाण्डौ, भक्तपुर र ललितपुरमा हाम्रो स्थिति नाजुक छ, बाग्मती प्रदेशमा होइन, बाग्मतीमा माओवादी कम्युनिस्ट आन्दोलनको पहिलो शक्ति हो’, उनले भने, ‘उपत्यकाको सङ्गठनको संरचना र केही नीतिगत विषयमा नयाँ ढङ्गबाट नीतिगत र संरनागतरूपमा नयाँ पार्टी बनाउनुपर्ने भएको छ ।’ नीतिगत र संरचनागतरूपले नयाँ पार्टी बनाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले गैरभौगोलिक प्रदेशका नेता तथा कार्यकर्तालाई उपत्यकामा पार्टी विस्तार अभियानमा संलग्न गराइने बताए ।
सङ्घीय राजधानीमा सङ्गठन संरचना पार्टी केन्द्रले नेतृत्व गर्ने र सम्पूर्ण शक्ति केन्द्रित गर्ने नीति विश्वव्यापीरूपमा चलिआएको जनाउँदै उनले माओवादीले सम्पूर्ण शक्ति विकेन्द्रित गर्दा नतिजा आफ्नो पक्षमा नदेखिएको बताए । ‘नीतिगत रूपमा राजधानीका हकमा विशेष ढङ्गले काम गर्ने सोचेका छौँ’, अध्यक्ष दाहालले भने, ‘संरचनाको हिसाबले पनि विशेष, सम्पर्क समितिलाई राजधानीमा केन्द्रित गरिने बताएका छन ।