सत्ता गठबन्धनले दुई दिन आ-आफ्ना पार्टीभित्र आन्तरिक छलफल गर्ने र त्यसपछि कार्यदल तथा शीर्ष नेताको बैठकबाट सिट बाँडफाँट टुंगो लगाउने सहमति गरेको छ। प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार ११ घण्टासम्म चलेको गठबन्धन बैठकमा कसले कति सिट लिने भन्नेमा छलफल भए पनि ठोस सहमति हुन सकेन।
१०० सिट दाबी गरिरहेको नेपाली कांग्रेसले केही सिट घट्न लचकता देखिएको कार्यदलका एक सदस्यले जानकारी दिए। कांग्रेसले आफूहरूले ९० सिट हाराहारी पाउनुपर्ने नत्र पार्टीभित्र सबैलाई समेटेर अघि बढ्न गाह्रो हुने बताइरहेको छ।
तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने १६५ मध्ये आधा कांग्रेस र बाँकी गठबन्धनका अन्य दलका लागि छाड्नुपर्ने बताएका थिए।